Artwork: Jack Forbes
Artwork: Jack Forbes

भौतिक सुरक्षाः प्राकृतिक विपद् र विषम मौसमी घटना

अद्यावधिक, जुलाई २९, २०२१

प्राकृतिक विपद् अर्थात् विषम मौसमी घटनाहरुको बारेमा ढुक्क हुन सकिन्न । यस्ता घटना भौतिक सुरक्षाका चुनौती हुन् । पत्रकारहरुले यस्ता घटनाबारे समाचार तयार गर्दा यी घटनाले निम्त्याउने सम्भावित जोखिमको राम्ररी अध्ययन गर्नुपर्छ र सोही अनुसारको तयारी गर्नुपर्छ ।

विषयसूची

  • सामान्य सुरक्षा निर्देशन
  • बाढी
  • डढेलो
  • आँधी बेहरी
  • ज्वालामुखी विस्फोट
  • भूकम्प
  • पहिरो
  • अत्यधिक गर्मी

जेखिम कम गर्न, मिडियाकर्मीले निम्न सुरक्षा सल्लाह ख्याल गर्नुपर्छः

साधारण सुरक्षा निर्देशन

कार्य योजना

  • कुनै घटना भएको वा हुदै गरेको ठाउँमा जोखिमको अवस्था कस्तो छ बुझ्नुहोस् । द्वन्द्वग्रस्त क्षेत्र वा कानूनको पालना कमजोर भएको ठाउँमा आम सुरक्षा अवस्था कमजोर नै हुने सम्भावना हुन्छ र यस्तो क्षेत्र सधैं जोखिमयुक्त हुन्छ ।
  • स्थानीय परिस्थिति र अवस्थाले तपाईको हिंडडुल र यात्रा योजनालाई प्रभावित गर्छन् । सम्भव भए, त्यस्तो ठाउँको वर्तमान अवस्था बुझ्न धेरै पत्रकार, सहयोगी संस्था वा स्थानीयहरुसँग सोधखोज गर्नुहोस् र सोही अनुसार योजना तय गर्नुहोस् ।
  • प्रभावित क्षेत्रका जेल वा चिडियाखानाबारे जानकारी लिनुहोस् किनकि यस्तो अवस्थामा त्यहाँको भवन वा पर्खाल/बार ढलेर कुनै कैदी वा जनावर भागेको हुनसक्छ । 
  • कस्तो ठाउँ हो त्यसको स्थान बुझेर तपाईले पैसा (नोट) बोक्नै पर्ने हुनसक्छ । यस्तो बेलामा त्यो पैसा एक्लै नबोकी आफ्नो समूहका साथीहरुसँग बाँडेर बोक्नुहोस् । पैसा कहाँ सुरक्षित राखेको छ ख्याल राख्नुहोस् । 
  • सुरक्षित रहेर (जस्तै श्वासप्रश्वासका लागि चाहिने उपकरण) रिपोर्टिङ गर्नको लागि कुनै विशेष किसिमको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) छ कि खोजी गर्नुहोस् ।
  • विशेष परिस्थितिको लागि तपाइको बिमा सेवाले समेट्छ कि समेट्दैन ख्याल राख्नुहोस् । आवश्यक परेमा तपाईलाई हस्पिटलसम्म पुर्याइदिन कोही सुरक्षा सहयोगी तयार हुन्छन् कि हुदैनन्, त्यो पनि विचार गर्नुहोस् । 

जनशक्तिबारे विचार 

  • चुनौतीपूर्ण र कतिपय अवस्थामा निक्कै प्रतिकूल परिस्थितिको सामना गर्न व्यक्ति स्वस्थ र सक्रिय हुनुपर्छ । 
  • यस्ता ठाउँहरुमा स्वास्थ्य सेवा उपलब्ध नहुने वा अवरोध हुनसक्ने अवस्थालाई ध्यानमा राखी कुनै स्वस्थकर अवस्था र आवश्यक औषधीबारे ख्याल गर्नुहोस् ।  
  • विषम जलवायु घटना र प्राकृतिक विपद्को रिपोर्टिङ एक्लै होइन कसैको सहयोग र सहकार्यमा गर्नु राम्रो हुन्छ । विश्वासिलो स्थानीय व्यक्ति÷गाइडसँग मिलेर काम गर्नु उचित हुन्छ, किनकि उसलाई स्थानीय ठाउँ र परिवेश थाहा हुन्छ । 
  • विनाश वा हताहत भएको दृश्य पीडाजनक हुन्छ । यस्ता दृश्यबाट आइपर्ने अवसाद वा पिटिएस्डीको जोखिमबारे सचेत रहनुहोस् । थप जानकारीका लागि सिपिजेको मनोवैज्ञानिक सुरक्षा सामग्री (CPJ’s psychological safety note) हेर्नुहोस् ।

सञ्चार

सञ्चार सञ्जाल पूर्ण वा आंशिकरुपमा विच्छेद हुनसक्छ । यदि कानूनले दिन्छ भनें, यस्तो परिस्थितिमा सम्पर्कका लागि स्याटलाइट फोन बोक्नुहोस् ।

  • स्थानीय सुरक्षा सेवा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा उपलब्ध स्थानीय आकस्मिक सेवा/मानिसहरुको सम्पर्कमा रहनुहोस् ।
  • विशेषगरी दूरदराज वा अन्योलग्रस्त र लुटपाट भएको क्षेत्रमा रिपोर्टिङ् गर्न जाँदा आफू त्यो ठाउँमा पुगेको जानकारी दिने तरीका चुस्त बनाउनुहोस् ।
  • बिग्रिँदो परिस्थितिमा योजना परिवर्तन गर्नुपर्ने हुनसक्छ । त्यस्तो परिस्थितिमा आकश्मिकरुपमा त्यो स्थान छोड्ने बाटो पत्ता लगाउन योजना बनाउनुहोस् र सोही अनुसार सञ्चार गर्नुहोस् । तपाईले परिवर्तन गरेको बाटोको बारेमा सम्बन्धित मानिसहरुलाई जानकारी गराउनुहोस् । 


लुगाफाटो र उपकरण

कुनै पनि निकायले सहयोग नगरे पनि आफू स्वयं पूर्ण व्यवस्थित हुनुपर्दछ । आफू पूर्णरुपमा तयार हुनुपर्छ । तर, आफ्नो तयारी व्यवस्थापन र आवश्यक उपकरणको तौल कत्तिको सन्तुलित छ यसले अर्थ राख्छ । यसका लागि आवश्यक सामग्रीहरुमा हुन्ः

  • विपद् किट– बोक्न मिल्ने छरितो रेडियो, लाइट, र हेड टर्च (थप ब्याट्री सहित), नबिग्रिने खालको खानेकुरा, खाना पकाउने भाँडा, पाल, राम्रो खालको सुत्ने ब्याग, बिर्को उघार्ने सामान । साथै, आफू जाने ठाउँमा आवश्यक पर्दा तत्काल तिर्नका लागि केही रकम बोक्नुहोस् । 
  • प्राथमिक उपचार सामग्री– काटेको वा दर्फ¥याएको ठाउँ निर्मलीकरण गर्ने वाइप्स्, जेल, वा क्रिम उचित व्यवस्था गर्नुहोस् । आफ्नो व्यक्तिगत औषधीको राम्रो जोहो गर्नुहोस् । यसरी औषधी बोक्न कानूनीरुपमा जायज छ छैन त्यो पनि ध्यान दिनुहोस् ।
  • ठूलो क्षति भएको ठाउँमा राम्रो गुणस्तरीय फेस मास्क (भएसम्म एन्९५ वा अझ् राम्रो) लगाउनुपर्छ । हानिकारक रसायन वा कुनै सामग्री (जस्तै एस्बेस्टो) को जोखिम भएको खण्डमा विशेष प्रकारको स्वासप्रश्वास सामग्री प्रयोग गर्नुपर्छ ।
  • विशेष मौसमी घटना सुहाउँदो लुगा कपडा (जस्तै गोलिगाँठा ढाक्ने दह्रो जुत्ता चप्पल)
  • फोल्ड गर्न मिल्ने बट्टा जसमा पानी वा इन्धन राख्न मिल्छ । तर इन्धन सञ्चय गर्दा ध्यान पुर्याउनुहोस् ।
  • आयोडिन ट्याबलेट वा बोकेर हिंड्न मिल्ने पानी प्रशोधनको सामान । पानी अत्यावश्यक चीज हो, त्यसैले सकिन्छ भनें बोकेर हिंड्नुहोस् । यद्यपि, यो सधै व्यवहारिक भनें हुदैन । पानीको सफा र सुरक्षित श्रोत पत्ता लगाउनुहोस् र आवश्यक पर्ने पानी सञ्चय गर्नुहोस् ।
  • छिटै नबिग्रिने खानेकुरा जोहो गर्नुहोस् । तयारी खाना बोकेर हिड्न गह्रौं हुन्छ, तर यस्तो चीजको व्यवस्थाले बनाएर खान नपाउने ठाउँमा निकै काम लाग्छ ।
  • चार्ज गर्ने सामग्री सहितको बोकेर हिंड्न मिल्ने लाइट । यस्तो चार्ज गर्ने सामग्री सोलार पावर भए राम्रो । धेरै थरी चार्ज गर्नुपर्ने उपकरण चाहिने पत्रकारहरुले बोकेर हिंड्न मिल्ने जेनेरेटर किन्नु उपयोगी हुन्छ । 

आबास

  • कुनै ठाउँमा पुगेपछि त्यहाँ भएको घटना/विपद्को स्थानबाट सुरक्षित दूरीमा खानपान र बासको सुविधा पत्ता लगाउनुहोस् । 
  • बस्ने होटल, लज भत्किएको छ कि छैन ख्याल गर्नुहोस् र सम्भव भए अग्लो भवनमा नबस्नुहोस् ।

यातायात

  • कुनै स्थानमा यातायात अवरुद्ध भएको हुन्छ र त्यहाँ हेलिकप्टर वा हलुका जहाजको मात्र पहुँच हुन्न सक्छ । तपाईको बीमा नीतिअनुसार यस्तो यातायात सुविधा लिन सकिन्छ कि सकिन्न ख्याल राख्नुहोस् । त्यसैले, नाम चलेको र अधिकारप्राप्त प्रदायकसँग सेवा लिनुहोस् । 
  • यदि तुरुन्त ठाउँ छोड्नुपर्‍यो भनें भरपर्दो यातायातमा पहुँच राख्नुहोस् । ट्याक्सीको भर नपर्र्नुहोस् । सवारी साधन सही अवस्थामा हुनु जरुरी छ (जस्तै सडकको अवस्था हेरी उचित दूरी तय गर्ने, दह्रो र कामयावी पाङ्ग्रा, इञ्जिन भएको) ।
  • छिटो र सहजै ठाउँ छोड्न मिल्ने स्थानमा सवारी पार्क गर्नुहोस् । 

परिस्थिति र सचेतना

  • प्रभावित स्थानीय मानिसहरु रिसाएका वा दुःखी भएका हुनसक्छन् । त्यसैले उनीहरु र उनीहरुको सामानको फोटो खिच्नु र छायाँकन गर्नु अघि सदैव अनुमति लिनुहोस् । यदि उनीहरुले अनुमति दिएनन् भनें तपाई आफ्नो सम्पर्क नम्बर, ठेगाना दिइरहनुहोस् जसले गर्दा उनीहरुले तपाईलाई पछि सम्पर्क गर्न सक्छन् ।
  • जिपिएस्को भर नपर्नुहोस्, र याद गर्नुहोस् तपाई आफू कहाँ हुनुहुन्छ थाहा पाउन सीमित ठाउँ/चिन्ह हुनसक्छ ।
  • कामको दौरानमा मौसम पूर्वानुमान कस्तो छ त्यसबारे जानकारी राख्नुहोस् र सोही अनुकूल बाटो तय गर्नुहोस् ।
  • आकस्मिक प्रतिकार्य समूहको सल्लाह सुन्नुहोस् र सोही अनुरुप सुरक्षित बाटो तय गर्नुहोस् ।
  • ग्याँस र विद्युतीय पूर्वाधारमा क्षति पुगेको हुनसक्छ । क्षतिग्रस्त भवनमा आगो नबाल्नुहोस्, चुरोट नपिउनुहोस् । 

विपद् विशेष सुरक्षा सल्लाह

बाढी

मिडियाकर्मीले तीव्र गतिको बाढीमा प्रवेश गर्न हुदैन । बाढीले सतहको धेरै कुरा छोपेको हुन्छ, देख्न सकिन्न । त्यहाँ भ्वाँङ, ढकन हराएका नाली, खुला ढल, खाल्डो, पानीमा बस्ने जनावर, फोहोरी पानी, पुरिएका सामग्री आदि हुनसक्छन् ।  

  • ढल्न लागेका पर्खाल तथा भवनहरुबाट टाढै रहनुहोस् ।
  • आकस्मिक छाल वा उर्लिदो जलप्रवाहप्रति सतर्क रहनुहोस् ।
  • जमेको पानीबाट सङ्क्रमणकारी रोग फैलिन सक्छ  र त्यहाँ रासायनिक वस्तुको खतरा हुनसक्छ, त्यसैले यसप्रति सचेत रहनुहोस् ।
  • बाढीको पानी नजिक वा त्यसमाथि सवारी नचलाउनुहोस् र कमजोर पुल छ कि सतर्क हुनुहोस् ।
  • याद राख्नुहोस्, यदि कुनै ठाउँमा पहिले बारुदी सुरुङ थियो भनें त्यस्तो ठाउँ बाढीले अस्थिर बनाउँछ,
  • ज्वारभाटा, छाल आउने नदी, वा नदी किनार नजिकै हो भनें यस्तो हुने समयबारे ख्याल गर्नुहोस् र उच्च भागमा जानुहोस् ।
  • अनुहार छुनु अघि, खाना खानु अघि, पानी वा चुरोट पिउनु अघि राम्ररी हात धुनुहोस् वा स्यानिटाइजरले सफा गर्नुहोस् ।
  • सङ्क्रमण हुने भएकाले घाउ पानीमा खुला नछोड्नुहोस् ।
  • प्रयोग पश्चात् सबै उपकरण, लुगाफाटो, जुत्ताचप्पल राम्ररी सफा गर्नुहोस् ।   

डढेलो

डढेलोको गति, शक्ति र विनाशकारी प्रकृतिलाई कहिल्यै कम नआँक्नुहोस् । सुक्खा याम, अधिक तापक्रम र बहिरहने हावाका कारण सानो आगो पनि छिट्टै बढ्न र फैलन सक्छ । याद राख्नुहोस्, बहिरहेको हावाको दिशातर्फ आगो बढ्न सक्छ । अतः हावाको दिशामा हुने परिवर्तनको सदैव ख्याल राख्नुहोस् । 

घटनास्थलबाट डढेलोको बारेमा समाचार बनाउदा ख्याल गर्नुपर्ने विषयमा सिपिजेले तयार पारेको सुरक्षा सामग्री पढ्न अनुरोध छ । 

आँधी बेहरी

आँधी बेहरी र हावाहुरी विनाशकारी हुन्छ, सम्पत्तिको नाश गर्छ, पूर्वाधार विस्थापित गर्छ र भत्किएका/फूटेका सामग्री उडाउँछ । साथै यसले सञ्चार, विद्युत र यातायात प्रणाली विच्छेद गर्छ ।    

  • यदि हावाको गति तीव्र हुदै गए तत्काल कुनै सुरक्षित स्थान खोज्नुहोस् र बाहिर नजानुहोस् ।
  • हावाहुरी चलेको बेला ठूलो शिशाको झ्याल तथा जस्ताको छाना भएको ठाउँबाट टाढा रहनुहोस् ।
  • सवारीको अवस्था ख्याल गर्नुहोस् – घुम्तीमा सवारी साधनको गति नियन्त्रण गर्न कठिन हुन्छ ।
  • हावाहुरी चलेको बेला कुनै पुल र बाटो बन्द भएको हुनसक्छ । यो कुरा विचार गरी यात्रा योजना बनाउनुहोस् ।
  • सम्भावित बाढी (बाढी बारे माथिको विषय हेर्नुहोस्) को जोखिम ख्याल गर्नुहोस् ।  

ज्वालामुखी विस्फोट

  • हानिकारण ग्याँस (जस्तै कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड, हाइड्रोजन सल्फाइड, हाइड्रोजन क्लोराइड) को जोखिम हुने भएकाले स्वासप्रश्वासको समस्या भएका मानिसहरु यस्तो ठाउँमा नजानु, परिचालित नहुन ।
  • विस्फोटको धूवाँबाट टाढा रहनुहोस् र स्थिति बदलिन सक्ने कुरा थाहा पाउन अरुसँग मिलेर काम गर्नुहोस् ।
  • हावाको दिशा परिवर्तन हुनसक्ने कुराको ख्याल राख्नुहोस् । हावाको दिशा परिवर्तन हुँदा हानिकारक ग्याँस र खरानी धेरै छरिन्छ ।
  • आगोले तुरुन्त नटिप्ने खालको रेशादार लुगा लगाउनुहोस् ।
  • जोखिमयुक्त क्षेत्रमा धेरै समय नबस्नुहोस् । याद राख्नुहोस्, कुहिरो, बादल, पानी, ज्वालामुखीको मुस्लोका कारण जतिसुकै खेर पनि अँध्यारो हुनसक्छ र हेर्न कठिन हुन्छ ।
  • याद गर्नुहोस्, ज्वालामुखी विस्फोटले ठूलो ढुङ्गा र चट्टान पनि तीव्र गतिमा तीन माइल टाढासम्म फ्याँक्न सक्छ । यो खतराप्रति सचेत रहनुहोस् ।
  • अझै हुन सक्ने विस्फोट र ज्वालामुखीका सङ्केतप्रति सचेत रहनुहोस् ।

भूकम्प

  • भूकम्प हुँदा सवारी चलाइरहनु भएको छ भनें कुनै संरचनाभन्दा पर सुरक्षित स्थानमा रोक्नुहोस् किनकि यस्ता संरचना ढल्न सक्छन् । सवारी भित्रै बस्नुहोस् र कोही भित्र छिर्न खोज्छ कि याद राख्नुहोस् ।
  • कुनै भासिएको, भ्वाँङ् परेको जमिन, भत्किएको पूर्वाधार, टुक्रिएका तार र ग्याँसको पाइपलाइन, ढल्न लागेको संरचना साथै फूटेको शिशाको जोखिम छ छैन होसगर्नुहोस् ।
  • छाल आउने नदी वा समुद्र किनार नजिक हुनुहुन्छ भनें सुनामी आउने खतरा हुन्छ, सचेत रहनुहोस् । समुद्र सतहमा कुनै अस्वभाविक सङ्केत देखा परेमा तुरुन्तै जमिनतिर र अग्लो ठाउँमा जान योजना बनाउनुहोस् । 
  • ठूलो भूकम्पपछि परकम्प आउने कुरामा सचेत रहनुहोस् । यदि कुनै भवनमाथि भए, तल ओर्लिनुहोस् र टेबलमुनि पसेर जोगिनुहोस् । कुनै काठका सामग्री जस्तै दराज ढल्ने भएकाले त्यस नजिक नबस्नुहोस् । सुरक्षित नै भए पनि उर्जा/तापको श्रोत पूरै बन्द गर्नुहोस् र बल्दै गरेको ज्वाला निभाउनुहोस् । सलाइ, लाइटर नबाल्नुहोस् । सुरक्षित महसुस भए पछि मात्रै त्यो ठाउँ छाड्नुहोस् ।
  • सम्भावित बाढीको जोखिमप्रति सचेत रहनुहोस् । (बाढीसम्बन्धी माथिको सामग्री पढ्नुहोस्)

पहिरो

  • सुरक्षित दूरी कायम गर्नुहोस् । जुनसुकै बेला थप पहिरो खस्न सक्छ ।
  • थप पहिरो वा हिउँपहिरो खस्न सक्ने ठाउँमा नजानुहोस् ।
  • ढुङ्गा खस्ने वा रुख ढल्ने खतराको चेतावनी दिन कुनै ध्वनीको ख्याल गर्नुहोस् ।
  • पानीको बहाव, सतह र रङ कस्तो छ ध्यान दिनुहोस्, किनकि यी कुराले पानीको सतह बढ्ने र उच्च भाग पनि डुब्ने खतराको सङ्केत मिल्छ ।
  • बिजुलीको पोललगायतका क्षतिग्रस्त पूर्वाधार र भवनको जोखिमप्रति सचेत हुनुहोस् ।
  • सम्भाव्य बाढीको खतराप्रति सचेत रहनुहोस् (बाढीसम्बन्धी माथिको सामग्री पढ्नुहोस्) ।

अत्यधिक गर्मी

  • यदि सम्भव छ भनें मिडियाकर्मीको परिचालनका लागि नयाँ परिस्थितिमा बानी पर्न लाग्ने समयबारे ध्यान दिनुहोस् ।
  • दिउँसो (१२ देखि ३ बजेसम्म) अत्यधिक गर्मीमा काम नगर्नुहोस् । बेला बेलामा कामबाट आरामका लागि कुनै शितल छहारी छ कि पत्ता लगाउनुहोस् र मिलेसम्म आराम गर्नुहोस् ।
  • घाम छेक्ने टोपी लगाउनुहोस । साथै, रेसादार/शरीरलाई चिसो राख्ने खालको हल्का कपडा लगाउनुहोस् ।
  • शरीरमा पानीको मात्रा कम हुन नदिनुहोस् । जलवियोजनको लक्षण देखिएमा (जस्तै अत्यधिक पसिना आउनु, टाउको दुख्नु, तिर्खा लाग्नु, वाक्वाकी लाग्नु, रिंगाटा लाग्नु, धकित हुनु, मूर्छा पर्नु, छालामा चमक हराउनु, मुटुको धड्कन बढ्नु, पिसाब गाढा हुनु), समयमै शरीरमा पानीको मात्रा कायम गर्ने लवणयुक्त पानी (रिहाइड्रेसन साल्ट—जीवन जल) सेवन गर्नुहोस् ।
  • जो कसैको पनि व्यक्तिगत स्वास्थ्य अवस्था छिट्टै बिग्रन सक्छ । यस कुरालाई ध्यानमा राखी सामान्य निगरानीका लागि पनि साथी समूहको व्यवस्था गर्नुहोस् ।
  • पिसाबको रङ कस्तो छ ख्याल गर्नुहोस्, र यसको रङ हल्का राखी रहन प्रयास गर्नुहोस् । यदि पिसाबको रङ गाढा हुन थाल्यो भनें जीवनजललगायत झोलिलो पदार्थ प्रशस्त सेवन गर्नुहोस् । 
  • गर्मीले हुने थकाइ गम्भीर अवस्था हो, जसले जीवन जोखिममा पार्न सक्छ । यदि लक्षण देखिएमा, गाह्रो भएको व्यक्तिलाई तुरुन्तै चिसो ठाउँमा लैजानुहोस् ।
  • लू लाग्यो भनें जीवन जोखिममा पर्न सक्छ । यस्तो अवस्थामा मानिसको शरीरमा तापक्रम बढ्छ, धड्कन र श्वासप्रश्वास तीव्र हुन्छ, भ्रमित हुन्छ, होस हराएझैं हुन्छ र आघात पर्छ । यस्तो वेला सकेसम्म छिटो शरीरको तापक्रम घटाउनु अत्यावश्यक हुन्छ र तत्काल चिकित्सकीय सहयोग लिनुपर्छ ।

यसबारे थप जानकारी र पूर्व—कार्य तयारी (preparation) तथा घटनापछिको सहयोगसम्बन्धी (assistance) विधि सिपिजेको श्रोत केन्द्रमा (Resource Center) फेला पार्न सकिन्छ ।