Artwork: Jack Forbes
कलाकृति: ज्याक फोर्ब्स

डिजिटल सुरक्षाः अनलाईन दुर्व्यवहार विरुद्द रक्षा

अद्यावधिक गरिएको मे ९, २०२२

अनलाईन दुर्व्यवहारको उद्देश्य कुनै पनि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता दबाउनु हो । यसले मिडियाकर्मीलाई निशाना बनाउँछ र उनीहरुको कामका कारण दुर्व्यवहारमा पारिन्छन् । दुर्व्यवहारको अन्त्य गर्न त सम्भव छैन यद्यपि पत्रकारहरुले आफूलाई अनलाईनमा सुरक्षित राख्नको लागि निश्चित उपाय अपनाउन सक्छन् । 

जोखिम कम गर्नका लागिः

  • कुनै पनि विषयका कारण तपाई अनलाईन दुर्व्यवहारमा पर्न सक्ने स्थिति छ भनें यसबारे आफ्नो समाचार कक्षमा वा सम्पादकसँग कुरा गर्नुहोस् । तपाईको मिडियामा अनलाईन दुर्व्यवहारसम्बन्धी कुनै नीति छ वा अनलाईनमा निशानामा परेका पत्रकारहरुलाई सहयोग मिल्छ कि बुझ्नुहोस् ।
  • समाचार विविध भएजस्तै तीसँग सम्बन्धित अनलाईन जोखिम पनि फरक फरक हुन्छन् । सम्भाव्य जोखिम र तिनको न्यूनीकरण र तपाईले अपनाउनु पर्ने निरोधक उपायबारे आफ्नो सम्पादकसँग कुरा गर्नुहोस् । याद राख्नुहोस्, तपाईले समाचार प्रकाशन गरिसकेपछि मात्रै तपाई अनलाईन आक्रमणमा पर्ने ज्यादा जोखिम हुन्छ । पत्रकारले हरेक समाचारको जोखिम मूल्याङ्कन (risk assessment) गर्नुपर्छ ।
  • सचेत हुनुहोस्, निश्चित समाचार– जस्तै राजनीतिक अभियानसम्बन्धी समाचार– ले नियोजित बेइज्जती अभियानलगायतका अनलाईन दुर्व्यवहार निम्त्याउने सम्भावना हुन्छ । त्यस्तै खालका अन्य विषयवस्तुमा रिपोर्टिङ् गर्ने अरु पत्रकारहरु आक्रमण परेका छन् कि छैनन् गहिरो अध्ययन गर्नुहोस् ।
  • तपाईलाई बदनाम गर्नका लागि दुरुपयोग हुनसक्ने तस्वीर र सूचना कति अरुले हेर्न मिल्ने बनाउने, कति हटाउने, कति लुकाउने हो सो कुराको लागि आफ्नो अनलाईन प्रोफाइल (विवरण) को समीक्षा गर्नुहोस् । पत्रकारहरुले आफूविरुद्द प्रयोग हुन सक्ने सूचना हटाउनका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्छ । तपाईको जन्म मिति वा फोन नम्बरजस्ता तपाईका व्यक्तिगत डाटा अनलाईनमा उपलब्ध छन् कि छैनन् हेर्नुहोस् । तपाई आफैंले वा जहाँ सम्भव हुन्छ तपाईका यस्ता डाटा मेटाउनुहोस् । थप जानकारीका लागि इन्टरनेटबाट व्यक्तिगत डाटा हटाउने सिपिजेको यो निर्देशिका (removing personal data from the internet) हेर्नुहोस् ।
  • बढ्दो दुर्व्यवहार वा अपमानजनक लेख विरुद्द आफ्ना सोसल मिडिया अकाउन्टहरुको अनुगमन गर्नुहोस् ।
  • हरेक अकाउन्ट लामो, व्यक्तिगत, असाधारण पासवर्ड राखी सुरक्षित राख्नुहोस् । सोसल मिडिया अकाउन्ट र ईमेलका दुई–चरणको प्रमाणीकरण सुविधा अन गर्नुहोस्, र सकभर तपाईको फोन नम्बरमा भन्दा कुनै एप्स्मा कोड लिन मिल्ने बनाउनुहोस् । अकाउन्टको सुरक्षा बारे थप जान्नका लागि सिपिजेको डिजिटल सुरक्षा किट (Digital Safety Kit) पढ्नुहोस् ।
  • आफ्ना सबै सोसल मिडिया अकाउन्टमा गोपनीयतासम्बन्धी सेटिङ्को समीक्षा गर्नुहोस् । इन्टरनेटबाट व्यक्तिगत डाटा हटाउने सिपिजेको निर्देशिका (removing personal data from the internet.) राम्ररी अध्ययन गर्नुहोस् जहाँ तपाईको डाटा कसरी गोप्य राख्ने सुझाइएको छ । सोसल मिडिया अकाउन्टले तपाई बसेको ठाउँ पनि देखाइदिन सक्छ । पत्रकारले यी कुराले आफूलाई जोखिममा पार्छ भन्ने महशुस गरेमा उनीहरुले यसलाई डिसेबल (अफ्) गर्नुपर्छ ।
  • सम्भव भएको ठाउँमा सोसल मिडियामा आफ्नो पेशागत अकाउन्ट बनाउनुहोस् ।
  • मन मिल्ने एकै किसिमका पेशाकर्मीहरु– जो अनलाईन निशानमा परेका छन्– सम्मिलित सहयोग सञ्जाल बनाउनुहोस् वा त्यस्तो सञ्जालमा आफू पनि जोडिनुहोस् । तपाईले काम गर्ने मिडिया वा पत्रकारको संगठनमा सहकर्मी–सहयोग समूह छ कि छैन बुझ्नुहोस् ।

अनलाईन आक्रमण हुँदाः

  • तपाई चाहनुहुन्छ र सक्नुहुन्छ भनें तपाईका आफ्ना सबै सोसल मिडिया अकाउन्ट प्राइभेट मोडमा लानुहोस् र परिवारका सदस्यलाई पनि त्यसै गर्न भन्नुहोस् ।
  • आक्रमणको पछाडि को छ र के उद्देश्य छ खुट्याउने प्रयास गर्नुहोस् । साधारणतया यस्ता आक्रमणकारी सरकार, राजनीतिक दलका सदस्य र समर्थकहरु र÷वा वर्ण वा लैङ्गिक आन्दोलनका आलोचक हुन्छन् ।
  • तपाई अनलाईन दुर्व्यवहारमा पर्नुभएको छ भनें आफ्नोे परिवार, कर्मचारी र साथीहरुलाई सुनाउनुहोस् । विरोधीहरुले प्रायजस्तो तपाईको परिवारका सदस्यहरु र कार्यस्थलमा सम्पर्क गर्छन् र उनीहरुलाई तपाईको बेइज्जत गर्नको लागि कुनै सूचना वा तस्वीर पठाउँछन् ।
  • तपाईलाई अप्ठ्यारोमा सहयोग पाउन सकिन्छ कि आफ्नो समाचार कक्षमा सुनाउनुहोस् । यदि तपाई स्वतन्त्र पत्रकार हो भनें, वा समाचार कक्षमा सहयोगका लागि त्यस्तो कुनै नीति छैन भनें अनलाईन हिंसाबिरुद्धको गठबन्धनमा उपलब्ध अनलाईन दुर्व्यवहार श्रोत केन्द्र (Online Harassment Resource Hub) भएको श्रोत सामग्री तपाईलाई उपायोगी हुन्छ ।
  • तपाईलाई अनलाईन जसले दुर्व्यवहार गरिरहेको छ तिनीहरुसँग जाइनलाग्नुहोस्, किनकि यसले गर्दा परिस्थिति झन् बिग्रन सक्छ । यदि तपाई विरुद्द नियोजित बेइज्जती अभियान छेडिएको हुन्छ भनें, परिस्थिबारे छोटो वक्तव्य लेखी सोसल मिडियाको शिरानमा पिन गरी राख्नुहोस् । यसो गर्दा तपाईले भोगेको समस्याबारे अन्य मिडियाले पनि नियोजित अभियानविरुद्द कसरी प्रतिकार्य गर्ने भनी सहयोगी वक्तव्य दिन सक्छन् ।
  • तपाईको अकाउन्ट ह्याकिङ् हुने खतराप्रति उच्च सतर्कता अपनाउनुहोस् र आफ्नो गोपनीयतासम्बन्धी सेटिङ लक गर्नुहोस् । दुई–चरणको प्रमाणीकरण सेटअप गनुहोस् र हरेक अकाउन्टका लागि लामो, व्यक्तिगत पासवर्ड निर्माण गर्नुहोस् ।
  • सोसल मिडियामा हुने कुनै कमेन्टले तपाईलाई अनलाईन जोखिम निम्त्याउने र त्यसले भौतिक आक्रमण समेत निम्त्याउने खालको भए तपाईको सोसल मिडिया अकाउन्ट समीक्षा गनुहोस् । यसबाट अनलाईनमा तपाईको ठेगाना पोष्ट गर्ने मानिस चिनिन्छ । यस्ता व्यक्तिले अरुलाई तपाईमाथि आक्रमण गर्न उक्साउन सक्छन् वा कुनै निश्चित व्यक्तिबाट हुने दुर्व्यवहारमा बृद्धि गर्छ । यदि तपाई आफ्नो अकाउन्टको अनुगमन आफैं गर्न सक्नुहुन्न भनें भरपर्दो व्यक्तिबाट सहयोग लिनुहोस् ।
  • तपाईलाई धम्कीपूर्ण लागेको कुनै दुर्व्यवहारको अभिलेख राख्नुहोस् । कमेन्टलगायत तपाईलाई बेइज्जत गर्ने दुव्र्यवहारीको सोसल मिडिया ह्यान्डलको स्क्रिनसट लिनुहोस् । यदि प्रहरी खोजबिन ग¥यो भनें यी जानकारी उपयोगी हुनसक्छन् ।
  • तपाईलाई अनलाईनमा दुर्व्यवहार गर्नेलाई ब्लक वा म्युट गर्न सक्नुहुन्छ । सोसल मिडिया कम्पनी वा इमेल प्रदायकलाई पनि तपाईले रिपोर्ट गर्न सक्नुहुन्छ र उनीहरुसँग तपाईले आफ्नो चिनारी दिन सक्नुहुन्छ ।
  • तपाईको व्यक्तिगत जानकारी प्रकाशित भएको छ भनें ठगी हुने सम्भाव्यताबारे होस् गर्नुहोस् । कसैले तपाईको व्यक्तिगत जानकारी इन्टरनेटमा प्रकाशित गरी सार्वजनिक गरिदिएमा (डोक्स), रोजगारदाता, ब्याङ्क वा अन्य सेवा दिने कम्पनीसँग सम्पर्क गर्नुहोस् ।
  • तपाईमाथि भएको दुर्व्यवहार मत्थर नहुन्जेलसम्म आफू अफलाईन बस्न सक्नुहुन्छ ।

तपाईको अनलाईन विवरण (प्रोफाइल) कसरी सुरक्षित राख्न सकिन्छ भन्ने थप जानकारीका लागि इन्टरनेटबाट तपाईको व्यक्तिगत डाटा हटाउने सिपिजेको सुरक्षा नोट (removing your personal data from the internet ) र नियोजित अनलाईन आक्रमणबाट रक्षाका लागि (protecting against targeted online attacks.) हेर्नुहोस् । आफू खुसी र स्वास्थ रहन सहयोगी – अनलाईन दुर्व्यवहार र मानसिक स्वास्थ्यको संरक्षण (online harassment and how to protect your mental health) हाम्रो निर्देशिका पढ्नुहोस् । अनलाईनमा हुने दुर्व्यवहारबाट कसरी प्रभावकारीरुपले रक्षा गर्ने भन्ने जान्नको लागि हाम्रो निर्देशिका (guide ) पढ्नुहोस् यस्ता विषयमा सहयोग गर्ने संस्था र अन्य श्रोत पनि छन् ।                    

सिपिजे अनलाईन दुर्व्यवहार विरुद्दको गठबन्धन (Coalition Against Online Violence)को एक सदस्य हो । यो गठबन्धन महिला विरुद्द हुने दुर्व्यवहार, उत्पीडन र अन्य स्वरुपका डिजिटल आक्रमणको समाधानका लागि काम गर्ने संसारभरका विभिन्न संस्थाहरुको समूह हो । 

सम्पादकको टिप्पणीः यो सल्लाह सबैभन्दा पहिले नोभेम्बर १, २०१८ मा प्रकाशित गरिएको थियो । माथि शीर्ष स्थानमा अद्यावधिक गरिएको मिति उल्लेख छ ।